काठमाडौँ - राजस्थान रोयल्सले आइतबार राति लखनउ सुपर जायन्टलाई २४ रनले हराउँदै इन्डियन्स प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। मुम्बईको ब्राबोउर्नी रंगशालामा टस जितेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रन बनाएको थियो।
१७९ रनको लक्ष्य पछ्याएको लखनउले आठ विकेट गुमाएर १५४ रनमात्र बनायाे। जितसँगै राजस्थानले १३ खेलबाट १६ अंक जोड्याे। पराजित लखनउले पनि १३ खेलबाट १६ अंक जोडेको छ। तर, रनरेटका आधरमा राजस्थान अग्रस्थानमा रहेको छ। समान २० अंक जोडेको गुजरात टाइटन्स शीर्ष स्थानमा रहेकाे छ।
राजस्थानका ओपनर यशस्वी जैसवालले ४१ रन बनाए। देबदत्त प्याडिकलले ३९, कप्तान सञ्जु सामसनले ३२ रियान परागले १९ र जेम्स नीसमले १४ रन बनाएका थिए। ट्रेन्ट बोलट १७ र रविचन्द्रन आश्विन १० रनमा अविजित रहे।
लखनउका रवि विश्नोइले दुई विकेट लिँदा आभास खान, जसोन होल्डर र आयुष बडोनीले एक एक विकेट लिएका थिए।
१७९ रनको लक्ष्य पछ्याएको लखनउका लागि दीपक हुडाले ५९ रन बनाए। मार्कुस स्टोइनिसले २७, क्रुनाल पाण्डेयले २५ र केएल राहुलले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
राजस्थानका बोल्ट, प्रसिद्ध कृष्ण र ओबेड म्याककेएले समान दुई विकेट लिए भने युजभेन्द्र चाहल र आश्विनले एक एक विकेट लिएका थिए।