क्रिकेटलाई वर्षा बाधक: मुलपानीको खेल रद्द, त्रिविको खेल बीचमै रोकियो

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ। नवौं राष्ट्रिय असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने तय भएपनि नेपाल टी-२० लिगसँग मिति जुधेकाले पुरुष क्रिकेट एक महिनाभन्दा अघि नै काठमाडौंमा गरिएको हो।

तर निरन्तरको वर्षाले गर्दा क्रिकेट खेल भने प्रभावित बनेको छ। पहिलो दिनमै तय गरिएका ४ मध्ये ३ खेल हुन सकेनन्। एक खेल पनि ६-६ ओभरमा घटाएर खेलाइएको थियो।

शुक्रबार पनि उस्तै समस्या देखिएको छ। नेपाल पुलिस र मधेश प्रदेशबीच तय भएको खेल पहिलो टस नै नभई रद्द भएको छ। वर्षाका कारण मुलपानीमा मैदानमा पानी जमेपछि खेल रद्द गरिएको हो। मधेश प्रदेशको लगातार दोस्रो खेल वर्षाका कारण रद्ध भएको हो। यसअघि बिहीबार मधेश प्रदेश र गण्डकी प्रदेशबीचको खेल पनि रद्द भएको थियो।

यस्तै त्रिवि मैदान पनि भिजेकाले बिहानको खेल ढिला सुरु भयो। एपीएफ र एनआरएनएबीचको खेलको टस पनि ढिला भएको थियो। एनआरएनएले टस जितेर ब्याटिङ गरेको थियो। तर एनआरएनएले १३.३ ओभरमा २ विकेट गुमाएर १२० रन बनाउँदा फेरि वर्षा बाधक बन्यो। एनएआरएनएका कप्तान सुनाम गौतम ४५ र पृथु बास्कोटा २६ रनमा खेलिरहेका थिए। तर खेलको नतिजा आउन सकेन र दुवै टिमले अंक बाँडेका छन्।

एनआरएनएले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएर विजयी सुरुवात गरेको थियो। समूह ‘बी’ मा २ खेलपछि एनआरएनए ३ अंकसहित शीर्ष स्थानमा रहेको छ। एपीएफको १ अंक रहेको छ।

शुक्रबारै त्रिवि मैदानमा सुदूरपश्चिम र बागमती प्रदेश तथा त्रिभुवन आर्मी र कर्णाली प्रदेशबीच खेल हुने तय भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×