टी-ट्वेन्टी विश्वकपको समूह चरणबाटै बाहिरियो अस्ट्रेलिया

काठमाडौँ - साविक विजेता अस्ट्रेलिया टी-ट्वेन्टी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। न्युजिल्यान्ड र इङ्ल्यान्डसँग नेट रनरेटमा पछि परेपछि अस्ट्रेलिया समूह चरणबाटै बाहिरिएको हो।

समूह ‘एक’का न्युजिल्यान्ड, इङ्ल्यान्ड र अस्ट्रेलियाले ५ खेलमा ७ अंक जोडे पनि न्युजिल्यान्ड र इङ्ल्यान्ड नेट रनरेटमा अघि रहे। न्युजिल्यान्ड समूह विजेता र इङ्ल्यान्ड उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। ४ अंक जोडेको  श्रीलंका, ३ अंक बटुलेको आयरल्यान्ड र २ अंक मात्रै जोडेको अफगानिस्तान पनि समूह चरणबाट घर फर्किएका छन्।

शनिबार अस्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा  श्रीलंकालाई पराजित गर्दै इङ्ल्यान्डले अन्तिम चारमा स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा इङ्ल्यान्डले  श्रीलंकालाई ४ विकेटले पराजित गर्‍यो।

श्रीलंकाले दिएको एक सय ४२ रनको लक्ष्य इङ्ल्यान्डले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो। इङ्ल्यान्डको जितमा एलेक्स हेल्सले सर्वाधिक ४७ रन बनाएका थिए। यस्तै बेन स्टोक्सले अविजित ४२ रनको योगदान दिँदा कप्तान जस बटलरले २८ रन बनाएका थिए।  श्रीलंकाका लाहिरू कुमारा, धनञ्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले २/२ विकेट लिएका थिए।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। श्रीलंकाका पाथुम निसंकाले ६७ रनको अर्धशतकीय पालि खेलेका थिए। यस्तै भानुका राजपाक्षेले २२ र कुशल मेन्डिसले १८ रन बनाए। इङ्ल्यान्डका मार्क उडले ३ विकेट लिएका थिए। यस्तै बेन स्टोक्स, क्रिस वोक्स, साम कुरान र अदिल रसिदले १/१ विकेट हात लिएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×