काठमाडौँ - रणवीर कपुर अभिनित बलिउड फिल्म ‘शमशेरा’ले बक्सअफिसमा कमजोर व्यापार गरेको छ। शुक्रवारबाट रिलिज भएको यस फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेको छैन।
‘शमशेरा’ले प्रदर्शनको पहिलो दिन १०.२५ करोड बराबरको कलेक्सन गरेको छ। दोस्रो दिन पनि फिल्मले ९.८ देखि १०.६० करोडको व्यापार गरेको छ। १५० करोडभन्दा बढी लगानीमा बनेको यस फिल्मको २ दिनको यो कलेक्सन न्यून हो।
विश्वभर खराब प्रदर्शनसँगै धेरै शो समेत रद्ध हुन थालेको बताइएको छ। साथै, शनिवार फिल्म ‘शमशेरा’ आधा दर्जनभन्दा बढी वेबसाइटमा लिक समेत भएको छ। जसकारण फिल्मको व्यापार सुस्त भएको छ।
फिल्म ‘शमशेरा’मार्फत रणवीरले च४ वर्षपछि ‘कमब्याक’ गरेका थिए। जसकारण ‘शमशेरा’लाई बहुप्रतिक्षित फिल्म मानिएको थियो। तर, रणवीरको ‘कमब्याक’ फ्लप साबित भयो।
यश राज फिल्म्सको ब्यानरमा बनेको फिल्ममा रणवीर पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन्। फिल्ममा रणवीरका साथै सञ्जय दत्त र वाणी कपुरको पनि मुख्य भूमिका छ। फिल्ममा भिलेनको रूपमा देखिएका सञ्जयले दरोगा शुद्ध सिंहको भूमिका निर्वाह गरेका छन्। वाणी भने रणवीरकी प्रेमिकाको भूमिकामा देखिएकी छिन्।