काठमाडौँ - दाङको तुलसीपुरस्थित एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँचजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। तुलसीपुर–५ ‘ङ’ लाइनस्थित चप्पल गोदाममा आज बिहान २ बजे आगलागी भएको हो । आगलागीलगत्तै उद्धार गरिएता पनि आगो नियन्त्रण बाहिर गएकाले निसास्सिएर मृत्यु भएको हो।
आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो। तीमध्ये घरको तेस्रो तलाबाट तीन र चौथो तलाबाट दुईजनालाई निकालिएको हो। पाँचैजनाको निसास्सिएर मृत्यु भएको प्रहरीले बताएको छ। विद्युतको मिटर पड्किँदा इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। पहिलो तलाबाट आगलागी सुरु भएको र तेस्रो तला तथा दोस्रो तलामा सुतेका उनीहरुलाई आगो नियन्त्रणभन्दा बाहिर गएकाले उद्धार गर्न नसकेको बताइएको हो।
अहिले पाँचैजनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी, जनप्रतिनधिलगायत रातिदेखि उद्धारमा खटिए पनि आगो नियन्त्रण आउन नसक्दा मानवीय क्षति हुन पुगेको हो। पाँचजनाको निसास्सिएर मृत्यु भएपछि तुलसीपुर बजार शोकमा डुबेको छ।
तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज शोकमा एक दिन बजार बन्द गर्ने निर्णय गरेको सङ्घका महासचिव विनिल केसीले जानकारी दिएका छन्।