काठमाडौँ - आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ। निर्माण टिमले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी कविता प्रतियोगिता आयोजना गर्दै पुरस्कारको घोषणा गरेको हो।
प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। सहभागीहरूले आफ्नो गुरु (शिक्षक)को विशेषता वा महत्वबारे कविता लेख्नुपर्नेछ। प्रतियोगितामा द्वितीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
सहभागिता जनाउनका लागि १२ वर्ष पूरा भई १८ वर्ष ननाघेको हुनु पर्ने निर्माण टिमले जनाएको छ। कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। कविता नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सक्ने जनाइएको छ।
सहभागीले कविताको भिडियो बनाएर prakashthefilm@gmail.com मा पठाउनुपर्नेछ। कविताको लम्बाई १ मिनेटदेखि साढे १ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ। साउन २० गतेदेखि भदौ २० गतेसम्मका लागि प्रतिस्पर्धा समयावधि तोकिएको छ।
विकट गाउँको १ युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा ‘प्रकाश’ चलचित्रमा देखाइएको छ। दिनेश राउत निर्देशित चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारहरूको अभिनय रहेको छ। विकास सुवेदीको लेखन रहेको चलचित्रको निर्माता महेन्द्र अधिकारी हुन्।