नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रा. दिवस र डा. बन्धुलाई

काठमाडौँ - कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले ‘कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार’ विसं २०७७ र २०७८ को घोषणा गरेको छ। 

प्रतिष्ठानले सो पुरस्कार २०७७ का लागि प्रा. तुलसी दिवसलाई र २०७८ का लागि प्रा. डा. चूडामणि बन्धुलाई प्रदान गर्ने निर्णय गरेको हो। संस्कृति एवं लोकसाहित्यका अनुसन्धानदाता स्रष्टा कालीभक्तको नाममा स्थापित सो पुरस्कार विसं २०७५ सालदेखि प्रदान गर्दै आएकामा गत वर्ष कोरोना महामारीका कारण घोषणा हुन सकेको थिएन।

नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अनुसन्धान गरी विभिन्न कृति प्रकाशन गर्नाका साथै आफ्ना कविताका माध्यमबाट नेपालको लोकवार्ता, साहित्य र संस्कृतिलाई विभिन्न क्षेत्र एवं विश्वसामु परिचित गराएवापत प्रा दिवसलाई गत वर्षको सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष डा. पार्थीवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार यसवर्ष पुरस्कार नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अनुसन्धान गरी विभिन्न कृति प्रकाशन गर्नाका साथै प्राध्यापन र आफ्ना अनुसन्धानात्मक कृति एवं पुस्तक प्रकाशनका माध्यमबाट नेपालको लोकवार्ता, लोकसाहित्य र संस्कृतिलाई स्वदेश एवं विश्वसामु परिचित गराउनु हुने प्रा. डा. बन्धुलाई प्रदान गर्ने निर्णय गरिएको हो।

यसअघि सो पुरस्कार २०७५ मा संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो भने विसं २०७६ मा लोकगीतका प्रवर्द्धक कृष्ण कँडेललाई प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशि रु. एक लाख एक हजार रहेको छ। पुरस्कार प्रत्येक वर्ष कालीभक्त पन्तको स्मृति दिवसको अवसरमाझैं यस वर्षपनि यही फागुन ६ गते प्रदान गरिने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।

कालीभक्त तथा कृष्णाका छोरा–बुहारी गोविन्दप्रसाद पन्त एवं श्रीमती उर्मिला पन्त तथा नाति–नातिनी महेश्वर, पर्मेश्वर र छोरी अन्जु पन्त–रावलको पहलमा उक्त पुरस्कार स्थापना गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×