काठमाडौँ - प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरूले काठमाडौंबाट नै मनोनयन दर्ता गराएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गर्ने समय दिइएको छ।
विगत हप्ता दिनदेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात भइरहेकोले प्लेन जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरूले भने निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराएका हुन्। नेकपा (एमाले) को तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार दल रावलले मौसम खराबीका कारण जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको बताए।
उनले आफ्नो पार्टीको प्रतिनिधि सभा र प्रदेश सभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको बताए। सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि काठमाडौंबाट नै मनोनयन दर्ता गराएको उनको भनाइ छ। नेता रावलले आफू सांसद निर्वाचित भएमा हुम्ला जिल्लाको सडक समस्या समाधान गर्न पहल गर्ने बताए। उनले भने, ‘मौसम खराबीका कारण हेलिकप्टर, प्लेन जान सकेन। पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र हामीले निर्वाचन कार्यालयमा पठाएका छौँ। गठबन्धनका साथीहरुले पनि यही ग¥यौँ। दुवै प्रदेशको पनि गर्यौँ। यो दुखद् बाध्यताको अन्त्य गर्न मेरो पहिलो एजेण्डा अब के हुन्छ भने सुर्खेतदेखि हिल्सा टु लेनको फास्टट्रयाक सडक ४०३ किलोमिटर छ। त्यो पुर्याउनको निम्ति नेपाल सरकारलाई म यदी संघको सांसद भएर हुम्ली जनताले सेवा गर्ने अवसर दिएभने म यो पूरा गर्छु।’
त्यस्तै हुम्ला जिल्ला प्रदेश सभा ख मा एमालेको तर्फबाट उम्मेदवार छक्कबहादुर लामाले पनि जिल्लामा हिमपातका कारण जान सम्भव नभएपछि काठमाडौंबाटै मनोनयन दर्ता गर्नुपरेको बताए। उनले भने, ‘हिमपात छ। बाटोघाटो छैन। प्लेन पनि उडिरहेको छैन। एकहप्ता भन्दा बढी भइसक्यो। त्यसैले हामी यहीँबाट पार्टी टिकट र वारेसनामा पठाउन खोजेको।’ नेता लामाले आफू उम्मेदवार बन्ने चाहाना नभएपनि जनताको मागका कारण उम्मेदवार बन्नुपरेको बताए।