काठमाडौं । मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भएको राजनीतिक सहमतिले ऊर्जामन्त्री कुलमान घिसिङ प्रधानमन्त्री बन्ने अवसरबाट बाहिरिएका छन्।
स्रोतका अनुसार रास्वपाले सुरुमा कुलमानलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव गरेको थियो। तर उनले उक्त प्रस्ताव स्वीकार नगरेपछि रवि लामिछानेले यही अफर मेयर बालेन शाहलाई दिए। बालेनले प्रस्तावलाई सकारात्मक रूपमा लिएसँगै राजनीतिक समीकरण एकाएक बदलिएको हो।
बालेन र कुलमानबीच राजनीतिक एकताका लागि निरन्तर संवाद भए पनि प्रधानमन्त्रीको नेतृत्व र पार्टी संरचनाबारे सहमति जुट्न सकेन। बालेनले आफू पाँच वर्ष प्रधानमन्त्री बन्नुपर्ने अडान राखेपछि कुलमान असहमत भएका थिए।
यसैबीच बालेन र रविबीच निर्णायक वार्ता भई सातबुँदे सहमतिको खाका तयार भयो, जसअनुसार बालेन प्रधानमन्त्रीका उम्मेदवार बन्ने सहमति भएको स्रोतले जनाएको छ।
राजनीतिक सहकार्यको यस प्रक्रियामा अन्ततः कुलमान एकता प्रक्रियाबाट मात्र होइन, प्रधानमन्त्री बन्ने अवसरबाट समेत बाहिरिएका छन्।