एसिया कप: भारतको लगातार दोस्रो हार

काठमाडौँ - युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ। दुबईमा मंगलवार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो।

भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो। उसका लागि कुशल मेन्डिस र पथुम निशंकाले अर्धशतक बनाए। मेन्डिसले ५७ तथा निशंकाले ५२ रन बनाएका थिए।

कप्तान दसुन शनकाले ३३ तथा भानुका राजपाक्षले २५ रन बनाए। भारतका लागि युजभेन्द्र चाहलले ३ तथा रविचन्द्रन आश्विनले १ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो। उसका लागि कप्तान रोहित शर्माले ७२ रनको अर्धशतकीय ईनिङ खेलेका थिए।उनले  ४१ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ७२ रन बनाएका थिए।

सुर्यकुमार यादवले २९ बलमा ३४ रन तथा हार्दिक पाण्ड्या र ऋषभ पन्तले १७/१७ रन बनाएका थिए। श्रीलंकाका लागि दिलशान मधुशंकाले ३ तथा चामिका करुनारत्ने  र दासुन शनकाले समान २/२ विकेट लिएका थिए।

सुपर ४ मा श्रीलंकाको यो लगातार दोस्रो जित हो। भारतको भने लगातार दोस्रो हार हो। बुधवार हुने पाकिस्तान र अफगानिस्तानबीचको खेलमा पाकिस्तान विजयी भएमा भारतको फाईनल पुग्ने सम्भावना समाप्त हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×