ठेकेदारले काम छोडेपछि स्वास्थ्यचौकी भवन निर्माण अधुरै

काठमाडौँ । ठेकेदारको लापरवाहीले खोटाङमा निर्माणाधीन पाँच स्वास्थ्यचौकी भवन हालसम्म अधुरै अवस्थामा छन्। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, सोही नगरपालिका ६ मङ्गलटार, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे र ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा स्वास्थ्यचौकी भवन निर्माण पूरा हुन सकेको छैन। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ बबरमहल, काठमाडौँबाट बोलपत्र आह्वान भएर जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ओखलढुङ्गामार्फत निर्माणको काम सुरु गरिएको स्वास्थ्यचौकी  भवन निर्माण गत साउनदेखि ठप्प छ।

हालसम्म स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडा, मङ्गलटार, बतासे र राखाबाङ्देल स्वास्थ्यचौकी भवनको केही काम सकिए पनि बाहुनीडाँडा स्वास्थ्यचौकीको काम अझै सुरु नभएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इञ्जीनियर विनोदकुमार मण्डलले बताए। निर्माणाधीन चार स्वास्थ्यचौकी भवनमा गत असार मसान्तसम्म निरन्तर काम भएको इञ्जीनियर मण्डलले जानकारी दिनुभयो । “ठेकेदारले केही भवनको प्लाष्टर गरिसकेका छन्। सोहीअनुसार भुक्तानी पनि दिइयो”, उनले भने, “त्यसयता भवन निर्माणको काम बन्द भएको छ। तत्काल काम सुरु गर्न पत्रारचार पनि गरेका छौँ तर, अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।”

मुख्य ठेकेदारले दोस्रो ठेकेदार र दोस्रोले तेस्रो ठेकेदारलाई भवनको काम छाडेकाले भवनको काम अधुरै रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ। पाँचवटै स्वास्थ्यचौकी भवन पेटी ठेकेदारले जिम्मा लिएर निर्माणको काम गरेकाले तोकिएको समयमा सम्पन्न हुने सम्भावना छैन।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×