काठमाडौँ - बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ।
प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो। कार्यालयको तथ्याङ्कानुसार बागमती प्रदेशका १० जिल्लामा गत सात महिनामा ९८० दुर्घटना भएका छन्। ती दुर्घटनामध्ये चितवनमा मात्रै २९५ दुर्घटना भएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए। राठोरका अनुसार चितवनपछि दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो स्थानमा छ। धादिङ तेस्रो स्थानमा रहेको उनले जानकारी दिए। मकवानपुरमा १६५ दुर्घटना भएको छ भने धादिङमा १५९ दुर्घटना भएको छ।
यस्तै, सिन्धुलीमा १५७ वटा दुर्घटना भएको राठोरले जानकारी दिए। कार्यालयको तथ्याङ्कानुसार काभ्रेमा ७९, नुवाकोटमा ४५, सिन्धुपाल्चोकमा ४०, दोलखामा १८, रामेछापमा १६, रसुवामा छवटा दुर्घटना भएका छन्। प्रदेशमा भएका दुर्घटनामध्ये सबैभन्दा धेरै सडकको अवस्थाका कारण भएको कार्यालयले जनाएको छ। बागमती प्रदेशमा रहेका सडक जीर्ण बन्दै जाँदा सडकका कारण बढी दुर्घटना भएका हुन्। सडकका कारण ४८९ वटा दुर्घटना भएको राठोरले बताए। उनका अनुसार सडकको अवस्था, तीव्रगति, ओभरटेकलगायत कारण दुर्घटना बढी हुने गरेको छ। तीव्रगतिका कारण २३८ वटा दुर्घटना भएको उनले बताए।
चालकको लापरवाहीका कारण ६५ वटा दुर्घटना भएका छन्। यात्रुको गल्तीका कारण ५१, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४१, यान्त्रिक खराबीका कारण २९ दुर्घटना भएको कार्यालयको तथ्याङ्कले जनाएको छ।