काठमाडौँ - छायांकनमा ननिस्किँदै फिल्म ‘प्रसाद २’ मा धेरै फेरबदल भइरहेको छ। फिल्ममा निर्देशक पश्चात् अभिनेता पनि फेरिने भएका छन्।
फिल्मका लिड क्यारेक्टर मध्येका एक निश्चल बस्नेतले फिल्ममा अभिनय नगर्ने भएका छन्। उनले आफ्नो आउँदो प्रोजेक्टको लागि फिल्म छाडेको हुन्। निश्चलले लामो समय कुर्दा पनि फिल्म फ्लोरमा नगएको र आफू नयाँ फिल्मको तयारी गरिरहेकाले समय दिन नसक्ने निर्माण पक्षलाई बताएका छन्।
दिनेश राउतले निर्देशन गरेको यसको पहिलो भागमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका थियो। दोस्रो भाग पनि यही कलाकारका साथ गर्ने निर्माण पक्षको योजना निश्चल आउट भएसँगै अपुरो भएको छ। निर्माता सुभाष थापाले निश्चलको ठाउँमा अर्पण थापा लिने तयारी गरिरहेको जानकारी गराएका छन्।
फिल्मको सुटिङ असार १५ देखि गर्ने निर्माताको तयारी रहेको छ। पोखराको हेम्जाकोटमा हुने सुटिङका लागि विपिनको समय बाधक बनेको छ। विपिनले बलिउड फिल्म ‘एनिमल’का लागि जुलाई-अगस्टको समय दिएका छन् -। विपिनको एनिमलको पहिलो सेड्युलको तय भएसँगै फिल्म फ्लोरमा जाने भएको छ।