काठमाडौँ - जोर्डन एफसीले बिल तामाङको स्मृतिमा आयोजित सहारा कप एचके २०२२ खुला सिक्स ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ। एस्स एफसीलाई हराउँदै जोर्डन एफसीले उपाधि जितेको हो।
उपाधि विजेताले हङकङ डलर १५ हजार र दोस्रो टोलीले ८ हजार हङकङ डलर प्राप्त गरेका छन्। प्रमुख अतिथि बिल तामाङ को श्रीमती सुनिता मोक्तानले पुरस्कार प्रदान गरेकी थिइन्। क्लबका प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङ, सल्लाहकार देवबहादुर गुरुङको उपस्थित रहेको कार्यक्रममा सहसंयोजक तिलक गुरुङले खेलको नियमबारे प्रष्ट पारेका थिए।
क्लब अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको खेलकुद संयोजक खम गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै क्लबको गतिविधिबारे प्रष्ट पारेका थिए। कार्यक्रम संचालन महासचिव कुमार गुरुङले गरेका थिए। मुख्य प्रायोजक एलजी संगमका प्रतिनिधि दुतराज गुरुङले प्रतियोगिता निरन्तरताको कामना गरे।
क्लब उपाध्यक्ष रहेका बिल तामाङको अघिल्लो वर्ष कोरोनाका कारण निधन भएको थियो। क्लबले उनको योगदानको स्मरण गर्दै फुटबल प्रतियोगिता आयोजना गरेको हो। सहारा क्लब हङकङको आयोजनामा हङकङको जोडर्न पार्कमा शनिबार आयोजित प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो।