काठमाडौँ - रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ले प्रदर्शनमा आएको १ सातामा ३०० करोड भारु कमाई गरेको छ। यसमा भारतमा मात्र १६९ करोड भारु कमाई भएको हो।
यो फिल्म ‘३०० करोड क्लब’ मा प्रवेश गर्ने आलियाको पहिलो र रणवीरको तेस्रो फिल्म हो। ‘ब्रह्मास्त्र’ले रिलिजको सातौं दिन भारतका सबै भाषामा १० करोड भारु कमाउँदा हिन्दी संस्करणबाट ९ करोड भारु कमाई भयो। विश्वभरको बक्स अफिसमा भने फिल्मले १५ करोड भारु व्यापार गरेको छ। योसँगै फिल्मको कलेक्सनमा आइरहेको १५-२० प्रतिशतको गिरावट जारी रहेको बताइएको छ।
‘ब्रह्मास्त्र’ १०० करोड क्लबमा पुग्ने १०० औं हिन्दी फिल्म बनेको छ आजबाट करिब १५ वर्षपछि आमिर खानको फिल्म ‘गजनी’ पहिलोपटक १०० करोड भारु कमाएर यो क्लबमा प्रवेश गरेको थियो। त्यसपछि सन् २०१० मा सलमान खानको ‘दबंग’ र अजय देवगनको ‘गोलमाल ३’ पनि १०० करोड क्लबमा सामेल भएको थियो।
‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा भारतमा ५,०१९ स्क्रिनमा र विदेशमा ३,८९४ स्क्रिनमा रिलिज भएको थियो। यो फिल्मलाई अयान मुखर्जीले निर्देशन गरेका हुन्। फिल्ममा रणवीर र आलियाका अलावा अमिताभ बच्चन, मौनी रोय, डिम्पल कपाडिया र नागार्जुन अक्किनेनीको पनि मुख्य भूमिका रहेको छ।