काठमाडौँ - इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड छाडेर इटालियन क्लब युभेन्ट्स पुगेका पउल पोग्बा प्रि-सिजनमै चोटको मारमा परेका छन्। उनले कतार विश्वकप नै गुमाउने खतरा बढेको छ।
युनाइटेडमा ६ वर्षको दोस्रो कार्यकालमा सफल हुन नसकेका २९ वर्षीय फ्रान्सेली मिडफिल्डर पोग्बा विश्वकपअघि लयमा फर्कनका लागि युभेन्ट्स पुगेका थिए।
युभेन्ट्समा दोस्रो कार्यकालको सुरुवातमै उनी घाइते भएका छन्। सुरुमा चोट सामान्य रहेको दावी गरिए पनि अहिले भने यही चोटले उनलाई विश्वकपबाट बाहिर राख्न सक्ने खतरा बढेको छ।
प्रि-सिजन ट्रेनिङका क्रममा फ्रेन्च मिडफिल्डर पोग्बाको दायाँ घुँडामा चोट लागेको थियो। यसअघि ला जगेट्टा डेलो स्पोर्ट्सले चोटका कारण उनी २ महिना मैदान बाहिर रहनुपर्ने जनाएको थियो। बिहीबार भने विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको घुँडाको शल्यक्रिया गर्नु पर्ने र उनी लामो समय मैदान बाहिर हुने समाचार प्रकाशित गरेका छन्।
शल्यक्रिया भएमा उनले आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा हुने विश्वकप समेत गुमाउन सक्छन्।
शल्यक्रिया गर्नु नपर्दा पनि उनी कम्तीमा २ महिना मैदान बाहिर हुनेछन्। तर यसबारे युभेन्ट्सले भने कुनै आधिकारिक जानकारी दिएको छैन।