काठमाडौँ - घरेलु टोली जिम्बाब्वे बंगलादेश विरुद्धको एक दिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा विजयी भएको छ। उ गए राति भएको खेलमा ५ विकेटले विजयी भएको हो।
३०४ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। उसका लागि इनोसेन्ट काई र सिकन्दर राजाले शतकीय पारी खेलेका थिए। १०९ बलमा ८ चौका र ६ छक्का प्रहार गरेका राजाले अविजित १३५ रन बनाएका थिए।
काईले १२२ बलमा ११ चौका र २ छक्कासहित ११० रन जोडेका थिए। लुक जोन्ग्वेले २४ र विस्ली मधेभरेले १९ रन बनाए। काई र राजाले चाैथाे विकेटका लागि दु १९२ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए।
बंगलादेशका मुस्ताफिजुर रहमान, सरिफुल इस्लाम,मोसाद्देख हुसेन र मेहदी हसनले १/१ विकेट लिएका थिए। त्यसअघि हरारे स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे बंगलादेशले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३०३ बनाएको थियो।
उसका लागि लिटाेन दास, अनमुल हक, कप्तान तामिम इक्बाल र मुस्फिकुर रहिमले अर्धशतकीय पारी खेलेका थिए। ८१ रनमा रिटायर्ड हर्ट भएका दासले ८९ बलमा ९ चौका र १ छक्का प्रहार गरेका थिए। हकले ६२ बलमा ६ चौका र ३ छक्कासहित ७३ रन बनाएका थिए।
६२ रन जाेडेका इक्बालले ८८ बलमा ९ चौका प्रहार गर्दा रहिम ५९ बलमा ५ चौकासहित ५२ रनमा अविजित रहेका थिए। महमुदुल्लाह अविजित २० रन जोडेका थिए।
पहिलो विकेटका लागि दास र इक्बालले ११९, रिटायर्ड हर्ट हुनुअघि दास र हकले ५२, दोस्रो विकेटका लागि हक र रहिमले ९६ र तेस्रो विकेटका लागि रहिम र महमुदुल्लाहले अविजित ३६ रनकाे साझेदारी गरेका थिए।
जिम्बाब्वेका लागि भिक्टोर न्युउछी तथा सिकन्दर राजाले १/१ विकेट लिएका थिए। याे जितसँगै जिम्बाब्वेले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ। दोस्रो खेल भोलि हुनेछ।