काठमाडौँ - आभास रिजालले निर्देशन गर्न लागेको वृत्तचित्र ‘हिमालयन सेफर्ड’ ले ढाका डकल्याबमा ‘ग्लोबल फिल्म एन्ड इनिसिएटिभ अवार्ड’ जितेको छ। पुरस्कारबापत वृत्तचित्र निर्माणका लागि २ हजार युरो प्राप्त भएको रिजालले बताएका छन्।
‘यसअघि हिमालय सेफर्डको कथावस्तु सुनाएपछि मलाई ढाका डकल्याबले योजनामा थप छलफल गर्नका लागि बोलाएको थियो। बंगलादेशमा अन्य फिल्मकर्मीसँग मैले पनि आफ्नो विषयवस्तु र योजनाबारे धारणा राखेको थिएँ,’ उनले भने। यस प्रोत्साहन पुरस्कारका लागि विभिन्न देशका ५६ वटा वृत्तचित्रले आवदेन दिएका थिए।
त्यसमध्ये सर्टलिस्टमा परेका १३ वटा वृत्तचित्रका निर्देशकले डकल्याबमा आफ्नो योजना प्रस्तुत गर्ने अवसर पाएका थिए। राम्रो विषयवस्तुमा वृत्तचित्र निर्माण गर्नका लागि प्रदान गरिने यो पुरस्कारको प्रायोजन भने स्विडेनले गरेको हो।
हिमालय सेफर्ड जलवायु परिवर्तनले हिमाली क्षेत्रका आदिवासी समुदायमा पारेको समस्यालाई समेटेर बन्न लागेको डकुमेन्ट्री हो। यस डकुमेन्ट्रीको निर्माता सुशील पाण्डे हुन्। डकुमेन्ट्रीको छायांकन २०२३ बाट सुरु हुने निर्देशक रिजालले जानकारी दिएका छन्।