काठमाडौँ - आइतबार बेलुका सामाजिक सञ्जालमा अभिनेत्री स्वस्तिमा खड्काको ‘एक्सन अवतार’ फोटो पोस्ट भयो। दुवै हातमा बन्दुकसहित उनी लडाकु स्टाइलमा देखिएकी छिन्।
स्वस्तिमाको उक्त तस्वीर आकर्षक र पावरफुल पनि छ। कुन उद्देश्यले खिचाइन् भन्ने खुलेको पनि छैन। ‘बी अ लेडी : दे सेड’ क्याप्सनसहित उनले फोटो पोस्ट गरेकी छिन्।
तर फोटो सार्वजनिक भएसँगै स्वस्तिमा सामाजिक सञ्जालमा ट्रोलको पात्र बनिन्। एन्जेलिना जोली अभिनित हलिउडको चर्चित एक्सन फिल्म ‘टम्ब रेइडर’बाट प्रभावित भएर स्वस्तिामाले फोटो खिचाएको भन्दै उनी ट्रोल बनिरहेकी छिन्।
कतिपयले एन्जेलिनाले स्वस्तिमाको स्टाइल कपी गरेको भन्दै व्यंग्य समेत गरेका छन्। कतिपयले हलिउडकै अर्को फिल्म ‘रेसिडेन्ट एभिल:एक्सटिङ्सन’बाट फोटो प्रभावित भएको बताइरहेका छन्।
सम्भवतः म्यागजिनका लागि स्वस्तिमाले फोटोसुट गराएको अनुमान गरिएको छ। इन्स्टाग्राममा उनले पवन जोशी, रोशन निरौला र वसन्त बुढालाई फोटो क्रेडिट पनि दिएकी छिन्।