काठमाडौँ - ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०७८ मा खोटाङका तेजकुमार राई प्रथम भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा काठमाडौमा सो प्रतियोगिता आयोजना गरेको थिए।
‘भित्र्याउनु छ घरभित्र सह’ शीर्षकको कविता लेखेर प्रथम भएका कवि राईले नगद रु ५० हजारको साथमा सम्मानपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा बैतडीका वासुदेव पाण्डे ‘प्रभाकर’को ‘पहिचान र लोकतन्त्र’ र ताप्लेजुङकी सविता बरालले लेख्नुभएको ‘ढोका उघारैँ अब’ शीर्षकको कविता क्रमशः द्वितीय र तृतीय भएको आयेजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतियोगितामा द्वितीय र तृतीय हुने कवि तथा कवयत्रीले क्रमशः नगद रु ४० हजार र ३० हजारका साथमा सम्मानपत्र प्राप्त गरेका छन्। देशभरका २६५ कवि तथा कवयत्री सहभागी राष्ट्रव्यापी कविता प्रतियोगितामा भाग लिएका जनाइको छ। युवा कवि राई यसअघि ७१औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजित प्रतियोगितामा तृतीय भएका थिए। उनी व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको पहिलो वर्षमा अध्ययनरत छन्। उनी विसं २०७४ मा ‘खोटाङ आइडल’ बनेका थिए। गीत–सङ्गीत र साहित्यिक क्षेत्रमा रुचि राख्ने कवि राईले आफ्नै स्वरमा चारवटा गीत रेकर्ड गराएर बजारमा ल्याइसकेका छन्।
राट्रव्यापी निबन्ध प्रतियोगितातर्फ तनहुँका गोविन्दगोपाल खतिवडा प्रथमस तेह्रथुमकी रेजिना आपगाईँ द्वितीय र काठमाडौँका गणेश दङ्गाल तृतीय भएको जनाइएको छ। उत्कृष्ट भएका निबन्धहरूमा ‘सौन्दर्यको भूमिमा सम्भावनाको बीज’, ‘मेरो देशको सुगन्ध’, ‘सयौँ थुँगा, धागो र माला’ निबन्ध क्रमशः प्रथम, द्वितीय र तृतीय विज्ञप्तिमा जनाइएको छ।
निबन्धतर्फको प्रतियोगितामा देशभरका ६७ जनाले सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने निबन्धकारलाई क्रमशः रु ५० हजार, ४० हजार र ३० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको जनाइएको छ।