कृष्ण कञ्चन [कविता]

१. गल्ती मेरै थियो 

म बस्नु पर्ने थियो तिम्रो खुट्टामा चप्पल बनेर 
जोगाउनु पर्ने थियो 
धारीला काँडाहरुबाट तिम्रा पैताला।
तिमी सँगै हिड्नु पर्ने थियो जीवनको गोरेटो
गल्ती मेरै थियो 
म तिम्रो शिरमा सिन्दुर बनेर सजिन खोज्नु। 

तिम्रा गोडाको चालमा छमछम गर्दै 
म तिम्रो खुट्टामा पाउजु बनेर बस्न सक्थेँ
तिमीले मेरो झङ्कारमा आफ्ना गोडाहरू चलाउँन सक्थ्यौ 
नाच्न सक्थ्यौं डाँफे मयूर जसरी 
चाहेको समयमा सुरक्षित साथ राख्न सक्थ्यौं दराजमा 
गल्ती मेरै थियो 
तिम्रो आँखामा गाजल बनेर बस्न खोज्नु 
बाढीले बगाए जसरी घरखेत 
आँसुले बगाएर सकिएको छ गाजल। 

गल्ती मेरै थियो 
तिम्रो पछ्यौरी बनेर बस्न खोज्नु 
तिमीलाई प्रेम पूर्वक न्यानो दिन खोज्नु 
तिम्रा स्तनहरूलाई छोप्न खोज्नु 
दु:ख पर्दा आँसु पुछ्नु 
खुशी हुँदा मुख छोप्नु 
मैले सोचेकै थिइन पछ्यौरी पासो बन्ला भनेर। 

बरू म बन्न सक्थेँ तिमीले कुल्चेको माटो 
बरू म बन्न सक्थेँ तिमीलाई जीवन देखाउने बाटो 
तर म तिमीले जतन साथ राख्छ्यौ भनेर गहना भइदिएँ 
लाग्नेको आँखा लागेपछि 
लुटिएको छु म तिमीलाई रूवाएर तिम्रो समीपबाट 
गल्ती मेरै थियो 
तिम्रो सुन्दरतामा सजिन खोज्नु। 

मलाई माफ गर प्रियसी 
म तिम्रो खुट्टामा सुरक्षित साथ बस्नुपर्ने मान्छे 
कहाँ-कहाँ असुरक्षित भएर सजिन खोजेँ।

२. तिमीलाई पर्खिरहेको म 

म त्यहि रूख थिए 
जो तिम्रो आगमनको
बर्षौंदेखी पर्खाइमा बसेको। 
 
सोचेको थिए 
तिमी बटुवा बनेर आउँछ्यौ
 र 
केहि समय मेरो समिपमा बस्ने छौ  
म तिमीलाई गर्मिमा शितलता दिनेछु।
तिम्रा लागी मेरा हाँगाहरू छाहारी हुनेछन्। 
तर 
तिमी मैले सोचे जसरी आइनौ 
तिमी त हावाहुरी बनेर आयौं 
र 
मेरा हाँगाहरू गर्ल्यामगुर्लुम भाचीदियौ 
तर म त्यहि रूख थिए 
जो तिमीलाई बर्षौ देखी पर्खीबसेको।

अब 
तिम्रो आगमनको अन्त्य भएको छ 
मेरा पुन: पलाउँनेछन् 
प्रेमका हाँगाहरू ।

तब
प्रेमको छाहारीमा अरू कोहि बस्ने छ 
र छोडेर जाने छ 
प्रेमका पदचापहरू 
म त्यहि रूख थिए 
जो तिमीले भाँचेर गएकी थियौ।

(सल्यानका कवि कृष्ण कञ्चन अहिले काठमाडौँ बसोबास गरिरहेका छन्।)

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×