भारत–रूस मैत्री नयाँ चुनौती सामना गर्न तयार : हैदराबाद हाउसमा मोदी–पुटिनको साझा बयान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–रूस सम्बन्ध जुनसुकै नयाँ चुनौती सामना गर्न सक्षम र तयार रहेको बताएका छन्। मंसिर १९ गते हैदराबाद हाउसमा सम्पन्न उच्चस्तरीय भेटवार्ता पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले दुवै देशबीचको ऐतिहासिक मैत्री सम्बन्ध अझ सुदृढ हुँदै गएको बताएका हुन्।

मोदीले युक्रेन युद्धबारे भारतले सधैं शान्तिपूर्ण र दीगो समाधानका प्रयासलाई समर्थन गरेको उल्लेख गर्दै रूसले भारतको आतंकवादविरुद्धको लडाइँमा निरन्तर साथ दिँदै आएको पनि प्रशंसा गरे।
“भारत–रूस मित्रता जस्तोसुकै परिस्थिति सामना गर्न तयार छ,” प्रधानमन्त्री मोदीले भने।

सम्बोधनका क्रममा मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको खुलेर प्रशंसा गरे। उनका अनुसार पुटिनको वर्तमान भारत यात्रा दुई देशबीचको व्यापारिक तथा प्राविधिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनेछ।

राष्ट्रपति पुटिनले पनि भारतीय नेतृत्वको उच्च मूल्यांकन गर्दै प्रधानमन्त्री मोदीसँग नियमित टेलिफोन संवादमार्फत महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा द्विपक्षीय विषयमा छलफल भइरहेको बताए। उनले ‘मेक इन इंडिया’ अभियानलाई रूसले खुलेर सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए।

पुटिनका अनुसार दुवै देशबीच नयाँ लजिस्टिक रुट निर्माण, हिन्द महासागर हुँदै व्यापारिक मार्ग विस्तार, लगानी तथा प्रविधि आदान–प्रदानका बारेमा गहन छलफल जारी छ।
“रूस–भारत आर्थिक सहयोग संयन्त्रले दुवै देशलाई अझ नजिक ल्याउनेछ,” पुटिनले भने।

दुवै नेताले परस्पर व्यापार, लगानी, ऊर्जा, रक्षा तथा पूर्वाधार विकासमा साझेदारी विस्तार गर्दै आगामी वर्षहरूमा सम्बन्धलाई अझ प्रगतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×