मकवानपुर - मकवानपुरमा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष अर्थात् गत आर्थिक वर्षमा राहदानी लिनेको सङ्ख्या अत्यधिक भएको जानकारी दिइएको छ।
कार्यालयबाट प्राप्त जानकारीअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा छ हजार पाँच सय ३२ जनाले राहदानी लिएका थिए भने अघिल्लो वर्ष २०७७/७८ मा तीन हजार पाँच सय २४ जनाले राहदानी लिएका थिए। झण्डै यो सङ्ख्या दोब्बर रहेको छ।
गत आव २०७८/७९ मा सो कार्यालयबाट छ हजार नौ सय ४७ जनालाई राहदानीका लागि साधारण सिफारिस भएको थियो भने चार हजार एक सय ३८ जनाको द्रुत सिफारिस भएको थियो। त्यसमध्ये प्रिन्ट भएर आएकामध्ये चार सय १५ राहदानी वितरण हुन बाँकी रहेको बताइएको छ।
त्यस्तै कार्यालयबाट अघिल्लो आव २०७७/७८ मा तीन हजार पाँच सय २४ राहदानी वितरण भएको थियो। त्यसमध्ये आठ सय ५० राहदानी वितरण हुन बाँकी रहेको छ। सो अवधिमा चार हजार तीन सय ७४ राहदानीका लागि साधारण सिफारिस भएको थियो भने दुई हजार नौ सय ५१ द्रुत सिफारिस भएको थियो।
यसैगरी उक्त कार्यालयले गत आर्थिक वर्षमा विभिन्न प्रकृतिका एक सय ५६ मुद्दा फछर्यौट गरेको जनाएको छ। गत आवमा दर्ता भएका एक सय ४९ मुद्दा तथा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दामध्ये एक सय ५६ मुद्दा फछर्यौट भएको सो कार्यालयबाट बुझिएको छ। बाँकी २९ मुद्दा चालु आवमा सरेर आएको छ। कार्यालयमा आव २०७८/७९ मा ५३ वटा नयाँ संस्था दर्ता तथा तीन सय सात संस्थाको नवीकरण भएको छ भने सोही अवधिमा दुई पत्रपत्रिका दर्ता गरी सञ्चालन गर्न अनुमति दिइएको बताइएको छ।