काठमाडौँ - विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो जित निकालेको छ। आर्मीले सोमबार भएको खेलमा मधेश प्रदेशलाई ६ विकेटले हराएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेसले दिएको १०५ रनको लक्ष्य पछ्याएको आर्मीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। आर्मीको जितमा विनोद भण्डारीले अविजित रहदै ३४ रन बनाएका थिए। रोहित पौडेलले २५ रन जोडे।
मधेश प्रदेशका लागि आदील आलम, रुपेश सिंह र हरिशंकर शाहले १/१ विकेट लिएका थिए। यसअघि पहिले ब्याटिङ गरेको मधेसले २० ओभरमा ७ विकेट गुमाएर १०४ रन जोडेको थियो। मधेशका लागि सन्तोष कार्कीले २१ रन बनाएका थिए।
हसिम अन्सारीले २० रन जोडेका थिए। आर्मीका सोमपाल कामी र सुसन भारीले २/२ विकेट लिएका थिए। त्यस्तै हरि चौहानले १ विकेट लिए।
यस जितसँगै समूह ‘ए’मा आर्मीले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। मधेसले ४ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ।