काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिलियन मिडफिल्डर क्यासेमिराेलाई अनुबन्ध गरेको छ। उसले स्पेनिस क्लब रियfल मड्रिडबाट क्यासेमिरोलाई ७० मिलियन युरो (६० मिलियन युरो र थप १० मिलियन युरो एड अन) मा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो।
सम्झौता अनुसार उनी २०२७ सम्म युनाइटेडमै रहनेछन्। यो क्यासेमिरोले रियालमा पाएको पारिश्रमिक भन्दा झन्डै दोब्बर हो। ३० वर्षीय क्यासेमिरोको लागि तीनै पक्ष (क्यासमिरो, म्यानचेस्टर र रियाल) बीच आपसी समझदारी भइसकेको छ।
रियाल मड्रिडले क्यासेमिरो क्लब छाड्ने आधिकारिक रुपमा पुष्टि गरिसकेकाे छ। म्यानचेस्टर युनाइटेडले केही दिनमै क्यासमिरोलाई आधिकारिक रुपमा सार्वजनिक गर्नेछ। सन् २०१३ मा ब्राजिलीयन क्लब साओ पाउलोबाट रियालमा रहेका क्यासेमिरोको सम्झौता सन् २०२५ सम्म रहे पनि उनले इंग्लिस क्लब राेजेका हुन्।
उनले स्पेनिस क्लबका लागि ३३६ खेलमा ३१ गोल गरेका छन्। २०११ देखि ब्राजिलको टोलीमा रहेका क्यासेमिरोले रियलबाट १८ उपाधि जितेका छन् जसमा ५ च्याम्पियन्स लिग तथा समान ३ ला लिगा, युइएफए सुपर कप, स्पेनिस सुपर कोपा र फिफा क्लब विश्वकप सामेल छन्।
उनले ब्राजिलबाट २०१९ मा कोपा अमेरिका जितेका छन्। उनी यस वर्षको बलुन डी’ओरका लागि मनोनयनमा परेका ३० खेलाडीको सूचीमा पनि रहेका छन्।