पोखरा - विभागिय टीम त्रिभुवन आर्मी क्लबले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। १७२ स्वर्ण पदकसहित आर्मीले उपाधि कब्जा गरेको हो।
३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। आर्मीले थप १०९ रजत र ८९ कास्य पदकसहित ३७० पदक जितेको हो। सातौँ र आठौँ संस्करणको उपाधि पनि आर्मीले नै जितेको थियो।
६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित २१८ पदक जितेको सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोश्रो भएको छ। ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदकसहित १९५ पदक जितेर नेपाल पुलिस क्लब तेश्रो भएको छ।
घरेलु मैदानमा गण्डकी प्रदेश चौथो भएको छ। प्रदेशहरुमध्ये गण्डकी पहिलो बनेको छ। गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित १२० पदक जितेको छ। बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदकसहित १४५ पदक हात पारेर पाँचौँ स्थानमा रहेको छ।
प्रदेश १ ले १० स्वर्णसहित ८३, सुदूरपश्चिमले १० स्वर्णसहित ६३, एनआरएनएले पनि १० स्वर्णसहित २६ पदक पाएको छ। लुम्बिनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेस प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक पाएको छ।
सुरुमा ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भनिएकोमा प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २-२ स्वर्ण पदक र स्क्वास र सफ टेनिसमा १-१ स्वर्ण पदकको खेल स्थगित भएको थियो। ३६ खेलका ३९६ इभेण्ट मात्रै पूरा भएका छन्। खेलहरु गण्डकी प्रदेशका ८ जिल्लामा सञ्चालन गरिएको थियो।