काठमाडौँ - न चैत महिनाको प्रचण्ड गर्मीको पर्वाह, न त नजिकिँदै गरेको स्थानीय तह निर्वाचनको रन्कोको प्रभाव।
बिहान उज्यालो भएदेखि साँझसम्म बगरमा आफ्नै पाखुरीको भरमा बगरको बलौटे जग्गा खोस्रेर भङ्गाहा नगरपालिका–६ स्थित पर्सा र सग्रामपुर किसानले माटोमा ‘सुन’ फलाएका छन्। अहिले रातु नदीको पुरानो बगर किसानको मिहेनतले सबैतिर हराभरा भएको छ। बालुबुर्जको बलौटे जग्गा त्यहाँका किसानको निरन्तरको मिहेनतले हराभरा भएको छ।
अहिले पुरानो रातु बगरको २०५ बिघा बलौटे जग्गामै फलफूलका बिरुवा लहलहाएका छन्। तरकारी बाली पनि फस्टाएको छ। त्यसैगरी भङ्गाहा–७ का भूमिहिन दलित पनि पछिल्लो पाँच-छ वर्षयता बगरको पर्ती ऐलानी जग्गामा तरकारी बाली लगाउन थालेपछि जीवनमा खुसी आएको बताउँछन्। “यो बगरले गुजारामात्र हैन, हाम्रो फरक परिचय पनि दियो, हाम्रो मेहनत हेर्न आउनेले हामीलाई मिहेनती र पौरखी किसान भन्छन् , जीवनमा केही असल गर्दै रहेछौ भन्ने लाग्छ” पर्साका किसान रामनारायण सिंह थारु भन्छन्।
रातु नदीले बालुवा थुप्य्राएको बगरमा अब लहलह बाली झुलेपछि जिल्लाको अहिले आफ्नो दिन फिरेको त्यहाँका किसान बताउँछन्। पर्सा, सग्रामपुर धनषपुरको माझमा विगतमा रातु नदीले बगर बनाएको २०५ बिघा जग्गामा अहिले लहलह बाली झुलेपछि किसानहरूले दिन फिरेको अनुभूति गरेका हुन्।