काठमाडौँ । डडेल्धुराका बाढीपीडितको जीवन कष्टकर बन्दै गएको छ। पहिरापीडित भएको करिब तीन महिना बितिसक्दा पनि राहतको नाममा आश्वासनमात्रै पाउँदा उनीहरु झन् पीडित बनेका हुन्।
गत कात्तिक पहिलो साता पहिराका कारण घरवारविहीन बनेका अजयमेरु–१ का केशव पार्कीका परिवार हालसम्म पनि अर्काकै घरमा आश्रित छन्।नातिनातिनासहित छ जनाको परिवार छिमेकीको जीर्णघरमा बस्दै आएका उहाँ बढ्दै गएको चिसोले झन् पीडा बल्झाएको दुःखेसो पोख्छन्। उनको पहिराले लगााउने लुगादेखि खाद्यान्न र गोठमा रहेका गाईवस्तुसमेतलाई क्षति पुर्याएको थियो।
उनले भने, “तत्कालका लागि राहातस्वरुपको रु. २० हजारबाहेक अन्य सहयोग भएको छैन। तीन महिना बढी भइसक्यो पुनःस्थापनाका लागि कुनै सुनुवाइ भएको छैन।” त्यसैगरी, जिल्लाका अन्य क्षेत्रका बाढीपीडितको अवस्था पनि त्यही छ। गन्यापधुरा–१ का दर्जन बढी परिवार पनि घरवारविहीन बनेका थिए। अमरगढी–१ का दर्जन बढी परिवार पहिरा जोखिमले गर्दा गाउँ नै अन्यन्त्र सानुपर्ने माग गर्दै आएका छन्। त्यसैगरी, परशुरामका बाढीपहिरो पीडितको अवस्था पनि ज्यूँका त्यूँ छ।
सरकारले गत असोज–कात्तिकमा आएको बाढीबाट प्रभावितलाई पुनःनिर्माण र पुनःस्थापना गर्ने भन्दै १० जिल्लाका ३३ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको पनि महिनौँ बितिसक्यो । मङ्सिर २१ गते माघभित्रै कार्यक्रम सञ्चालन गर्ने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। अहिलेसम्म स्थानीय तहको राम्ररी तथ्याङ्कसमेत सङकलन हुनसकेको छैन भने पुनःनिर्माण र पुनःस्थापनाको कुनै पनि सुरुआत हुनसकेको छैन।
बाढीपहिरापीडित अहिले पनि टहरामै बस्न बाध्य छन् ।