काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि नेपाल पुलिस क्लबले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा टोली घोषणा गरेको छ।
दीपेन्द्रको कप्तानीमा रहेको १४ सदस्यीय पुलिसको टोलीमा अधिकांश राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु छन्। हाल राष्ट्रिय टिममा रहेका मध्ये दीपेन्द्रसँगै आरिफ शेख, करण केसी, सागर ढकाल, पवन सर्राफ पुलिसको टिममा छन्। यस्तै कुशल भुर्तेल, सुनिल धमला, ललित राजवंशी, गुल्शन झा, दिलिप नाथ, रासिद खान पनि पुलिसको टिममा छन्।
यसबाहेक अमित श्रेष्ठ, शंकर राना, योगेन्द्र सिंह कार्की पनि पुलिसको टिममा छन्।
यसअघिका प्रतियोगिताहरुमा भेट्रान अलराउण्डर मन्जित श्रेष्ठले पुलिसको कप्तानी गरेका थिए। गत भदौमा भएको नवौँ राष्ट्रिय खेलकुदबाट भने मन्जितले दीपेन्द्रलाई कप्तानी हस्तानतरण गरेका थिए।
प्रधानमन्त्री कपका लागि भने मन्जित पुलिसको प्रशिक्षण टोलीमा छन्। मनोज कटुवाल प्रशिक्षक रहेको पुलिस टिममा मन्जित सहायक प्रशिक्षक छन्। यसअघि मन्जितकै प्रशिक्षणमा पुलिसको महिला टिमले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको थियो।
समूह बी मा रहेको पुलिसले पहिलो खेल बागमती प्रदेशसँग कात्तिक १३ गते मुलपानी मैदानमा खेल्नेछ।
पुलिसको टोलीमा: दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख (उपकप्तान), कुशल भुर्तेल, दिलिप नाथ नाथ (विकेटकिपर), अमित श्रेष्ठ, शंकर राना, सुनिल धमला, सागर ढकाल, ललित राजवंशी, योगेन्द्रसिंह कार्की, राशिद खान, पवन सरार्फ, करन केसी, गुल्शन झा रहेका छन्।