काठमाडौँ - इंग्ल्यान्डका युवा स्टार साम करन आइसिसी टि-२० विश्वकप २०२२ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन्। इंग्ल्यान्डलाई च्याम्पियन बनाउन सानदार बलिङ गरेका साम करन प्लेयर अफ द फाइनल र सर्वोत्कृष्ट खेलाडी दुबै चुनिएका हुन्।
फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक उपाधि जितेको हो। इंग्ल्यान्डले २०१० पछि पहिलो पटक विश्वकप उपाधि जितेको हो।
इंग्ल्यान्डलाई च्याम्पियन बनाउन साम करनले ६ खेलमा २२.४ ओभरमा १ सय ४८ रन खर्चेर १३ विकेट लिएका थिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका छन्। उनीअघि श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा १५ विकेटका साथ शीर्ष स्थानमा रहेका छन्।
फाइनलमा साम करनले पाकिस्तानविरुद्ध ४ ओभरमा १२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका थिए। साम करनले पहिलो खेलमै अफगानिस्तानविरुद्ध ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए। आयरल्यान्ड र न्युजिल्यान्डसँग समान २ विकेट लिएका थिए। श्रीलंकासँग १ र भारतविरुद्ध विकेट विहीन बनेका थिए।
जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा अविजित रहे। पाकिस्तानका हरिस रौफले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।
त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो। पाकिस्तानका शान मसुदले २८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाएका थिए। शादब खानले १४ बलमा २ चौकासहित २० रन जोडेका थिए। इंग्ल्यान्डका साम करनले ४ ओभरमा मात्रै १२ रन खर्चेर ३ विकेट लिएका थिए।