म्याग्दी - म्याग्दीको बेनी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक सेवा वडा कार्यालयबाटै उपलब्ध गराउन थालेको छ। रु पाँच लाखसम्मका योजनाको सम्झौता गर्ने अधिकार वडासचिवलाई प्रत्यायोजन गरेको नगरपालिकाले सर्वेक्षण, नापजाँच र मूल्याङ्कन गर्ने प्राविधिकलाई पनि वडामै खटाएको हो।
यसअघि रु दुई लाखसम्म बजेट विनियोजन भएका योजनाको सम्झौता वडाबाटै गर्ने अभ्यास गरेको नगरपालिकाका प्राविधिकहरू वडा विभाजन गरेर नगरपालिकाको कार्यालयबाटै परिचालन हुने गरेका थिए। चालु आर्थिक वर्षदेखि सबइञ्जीनियरलाई वडा कार्यालयमै बसेर सेवा दिने गरी खटाइएको नगरप्रमुख सुरत केसीले बताए।
“उपभोक्ता समितिलाई नगरपालिकासम्म आउने जाने झन्झट हटाउनका साथै पूर्वाधार योजनालाई गुणस्तरीय बनाउन वडा कार्यालयमा प्राविधिक खटाएका हौँ”, उनले भने, “हाल सात जनालाई वडामा पठाएका छौँ। प्रदेश लोकसेवाबाट सिफारिस र सरुवा भएर आउने प्राविधिकलाई पनि वडामै पठाउने तयारीमा छौँ।”
वडा नं १ र २ मा कमल थापा, ३ मा मिथीलेश्वर दास, ४ र ५ मा चन्द्रबहादुर थापा (कुमार), ६ मा गौरीश्वर रिजाल, ७ मा सन्ध्या रिजाल, ८ मा गोपाल मगर, ९ र १० मा सुनिल श्रेष्ठलाई प्राविधिकको जिम्मेवारी तोकिएको छ। वडाका योजना र प्राविधिकलाई सघाउन एक जना इञ्जीनियर नियुक्त गर्न लागिएको पनि नगरप्रमुख केसीले बताए।
पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर विमलरञ्जन कार्कीलाई समग्र नगरपालिका, प्राविधिक अर्जुन थापालाई ठेक्का र विष्णु पौडेललाई भवनको नक्सापाससम्बन्धी जिम्मेवारी तोकिएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेका योजनाको सर्वेक्षणका लागि नापजाँच थालिएको प्राविधिकले बताएका छन्।
उपभोक्ता समिति गठन र सर्वेक्षणको प्रक्रिया सँगसँगै अघि बढाएको नगरपालिकाले निकासा र खर्चको अख्तियारी आउनेबित्तिकै सम्झौता गर्ने तयारी गरेको छ। यस वर्ष नगरपालिकाले रु १५ लाखसम्म बजेट विनियोजन भएका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नगरप्रमुख केसीले जानकारी दिए।