काठमाडौँ । पर्यटकीय गतिविधिलाई बढावा दिनका लागि शुक्लाफाँटा नगरपालिका–७ मा भौतिक पूर्वाधार निर्माणको कार्यलाई अगाडी बढाइएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा जागरुक समाजको सिर्जना नामक संस्थाको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रु. २७ लाखको लागतमा भौतिक पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको छ । आन्तरिक र बाह्य पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउन पर्यटन सूचना केन्द्र, आगन्तुक विश्रामस्थल, गोल घर, फोहर विर्सजनस्थल, पर्यटकीय क्षेत्र देखाउने चिह्न, सिसा घर, पिङ, लव स्टेशन, सुविधा सम्पन्न शौचालय, स्नान घर, सडक क्षेत्रमा नालीलगायत संरचना निर्माणको कार्यलाई अगाडि बढाइएको जागरुक समाजसँग समन्वय गर्दै आएका भीमराज अवस्थीले बताए ।
स्थानीय पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहेको छ । भौतिक पूर्वाधार निर्माणका कार्य पुस मसान्तसम्म पूरा हुने लक्ष्य राखिएको छ । नगरपालिकाको सिमलफाँटा र जुडा क्षेत्रसँगै जोडिएको स्याली नदी छेउको सार्वजनिक जग्गामा पूर्वाधार निर्माणको कार्य भइरहेको वडाध्यक्ष जगतबहादुर सिंहले बताए । “एकान्तमा रम्न चाहनेका लागि यो क्षेत्र गन्तव्यका रूपमा रहेको छ”, उनले भने, “चुरे क्षेत्रको मनोरम दृश्यावलोकनका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुरफाँटामा संरक्षित कृष्णसार अवलोकनकर्ताका लागि सहज हुनेछ ।” पर्यटकीय गतिविधि बढेसँगै स्थानीयस्तरमै रोजगारीको समेत सिर्जना हुने उनले बताए ।
पर्यटकीय क्षेत्रमा वडाकै लगानीमा युवालाई अनुदान रकम उपलब्ध गराएर नास्ता पसल सञ्चालनका लागि प्रोत्साहन गरिने उल्लेख गर्दै उहाँले यसका लागिसमेत भौतिक पूर्वाधार निर्माण हुने बताए । पर्यटकीय क्षेत्रमै ज्येष्ठ नागरिकका लागि विश्रामस्थलका लागिसमेत कार्य अगाडि बढाइएको छ ।