दीपकराज र सुरक्षा सर्वोत्कृष्ट अभिनेता-अभिनेत्री, डेब्यु हिरोइनको अवार्ड सुहानालाई

काठमाडौँ - नेपाली डायस्पोराको प्रतिष्ठित अवार्ड मानिने पाँचौ ग्लोबल फिल्म अवार्ड नेपाली समयानुसार आइतबार बिहान अमेरिकाको कोलोराडोस्थित डेनभरमा सम्पन्न भएको छ। सन् २०२२ मा रिलिज भएका नेपाली फिल्ममध्येबाट अवार्ड प्रदान गरिएको थियो, जहाँ चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीदेखि पूर्वअध्यक्ष नीर शाहसम्म उपस्थित रहेका थिए।

अवार्डमा झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ले सर्वोत्कृष्ट फिल्मको ट्रफी जितेको छ। सोही फिल्मबाट सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जितेकी छिन्। झरना सोही फिल्मबाट ‘ए मेरो हजुर ३’बाट उत्कृष्ट निर्देशक घोषित भइन्।

‘रातो टीका निधारमा’ फिल्मबाट अंकित शर्मा सर्वोत्कृष्ट डेब्यु अभिनेता घोषित भएका छन्। जुरी स्पेसल अवार्ड चाहिं ‘मारुनी’ले जितेको छ। वर्षकै सर्वोत्कृष्ट अभिनेत्रीकोतर्फको अवार्ड ‘आमा’बाट सुरक्षा पन्तले जितेकी छिन्। ‘छ माया छपक्कै’बाट दीपकराज गिरी सर्वोत्कृष्ट अभिनेता घोषित भएका छन्। अभिनेत्री नम्रता श्रेष्ठ स्टार अफ दी इयर घोषित भएकी छिन्।

डायस्पोरा अवार्डतर्फ उत्कृष्ट डेब्यु अभिनेता शक्ति श्रेष्ठ घोषित भए। सुधांशु जोशी उत्कृष्ट अभिनेता बन्दा उत्कृष्ट फिल्मको उपाधि ‘हेलो जिन्दगी’ले प्राप्त गरेको छ।

संगीतकार शम्भुजीत बाँस्कोटालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। रामकेशर बोगटी स्मृति सम्मान अभिनेत्री सरिता लामिछाने र गेहेन्द्र धिमाल स्मृति सम्मान नाट्यकर्मी हरिबहादुर थापालाई प्रदान गरिएको छ।

समारोहमा अभियानश्री सम्मान प्रकाश श्रेष्ठ र हिरण्य भोजपुरेलाई प्रदान गरिएको छ। भुटानी कला सम्मान सिद्धार्थ विश्व र लक्षु शर्मालाई प्रदान गरिएको छ। मिस नेपाल नर्थ अमेरिका प्रत्युषा बोहरा र रनरअप आन्या थापालाई पनि सम्मान गरिएको छ।

कार्यक्रमले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा टेवा पुर्याएको जानकारी पाँचौं ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×