महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न माग

काठमाडौँ - कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न माग गरेको छ।    नगरपालिकाको एक लाख ३३ हजार जनसङ्ख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को शान्ति सुरक्षा हेर्ने प्रभागमा जनशक्ति कम हुँदा शान्ति सुरक्षामा प्रभाव परेको भन्दै नगर प्रमुख कृष्णहरि थापाले गृह मन्त्रालयलाई पत्र लेख्दै यस्तो माग गरेका हुन्। पत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा जनशक्ति बढाउन माग गरिएको छ। 

घना र अव्यवस्थित बस्ती भएकाले सीमित जनशक्तिले गस्तीसमेत गर्न नसक्दा शान्ति सुरक्षामा समस्या भएको स्थानीयवासी एवं समाजसेवी प्रकाशजङ्ग रायमाझीले बताए। पत्र बुझ्नुहुँदै गृहसचिव टेकनारायण पाण्डेले अविलम्ब जनशक्ति थप गरी शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको उनले जानकारी दिए। रायमाझीको नेतृत्वमा यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम गराउने उद्देश्यले प्रहरी प्रभाग स्थापना भएको थियो। 

यस स्थलमा प्राचीन सम्पदाका रूपमा नागेश्वर मन्दिरको स्थापना भएपछि त्यसको सुरक्षाका लागि पुरातत्व विभागको समेत समन्वयमा प्रहरी प्रभाग स्थापना भएको हो। मन्दिरमा सोमबार, शनिबार एवं विभिन्न पर्वका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×