काठमाडाैं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो ।
तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताएका छन्। उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए । गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको साहको भनाइ छ ।
यता, चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १५० रुपैयाँ सम्ममा बिक्री भईरहेको व्यापारी ईश्वर ढकालले बताएका छन् । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दा बढी भएको उनको भनाइ छ ।
व्यापारीहरुका अनुसार यस वर्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढी भित्रिएको छ । ग्राहकहरुले पनि सस्तो मूल्य हुने भएकाले कालिमाटी बजारबाटै तरुल खरिद गर्ने गरेको बताएका छन् । ललितपुरकी मुना थापाले सस्तोमा पाइने भएकाले तरुल खरिद गर्न आफू कालिमाटी तरकारी बजारमै आएको बताए।
अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो । माघे संक्रान्तिमा तरुल पनि खाने हाम्रो प्रचलन रही आएको छ । पोषणविद्हरुका अनुसार तरुलले हाम्रो शरीरलाई बलियो बनाउने पोषण दिने गर्दछ ।