तनहुँ - तनहुँको घिरिङ गाउँपालिकामा मतगणनास्थल परिवर्तन गरिएको छ। यसअघि वडा नं ३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा मतगणना गर्ने निर्णय भए पनि बुधबार बसेको राजनीतिक दल तथा सुरक्षा निकायको बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको हो।
बैठकले गाउँपालिकाको प्रशासकीय भवनमा मतगणनास्थल तय गर्ने निर्णय गरेको घिरिङका निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए। विद्यालय भवनमा सुरक्षाको प्रत्याभूति नहुने र निर्वाचनलगत्तै विद्यार्थी भर्नालगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले मतगणनास्थल परिवर्तन गर्ने निर्णय गरेको उनको भनाइ थियो।
विद्यालयमा मतगणना गर्ने निर्णयको नेकपा (एमाले)ले विरोध जनाएको थियो। विद्यालयको भवनमा सुरक्षाको प्रत्याभूति नहुने र मतगणनाको क्रममा धाँधली हुनसक्ने भन्दै एमालेले गाउँपालिकाको नयाँ भवनमा मतगणना हुनुपर्ने माग गरेको एमाले गाविस अध्यक्ष विष्णुप्रसाद ढकालले बताए।