हेटौँडा - हेटौँडामा यसै महिनाबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा जेठ १९ गतेदेखि २८ गतेसम्म चौँथो संस्करणको स्थानीय तह मकवानपुर गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएको हो।
हेटौँडा-५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा एक विदेशीसहित दशवटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको विजेताले नगद १५ लाख र उप-विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने छन्।
संघका अध्यक्ष टीकाराम लामाका अनुसार प्रतियोगितामा करिब १ करोड १७ लाख खर्च हुने अनुमान छ। प्रतियोगितामा हेटौँडाको विजय युथसहित ए डिभिजन र मोफसलका चर्चित क्लबहरुले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ।