म्याग्दी । बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा शनिबारदेखि यहाँका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समितिका सहयोगमा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीको समन्वयमा सुरु भएको सो तालिम तीन दिनसम्म चल्नेछ ।
चालिस सहभागी तालिमको शुभारम्भ गर्दै बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठले जिम्मेवार, विश्वसनीय, मर्यादित र खोजमूलक पत्रकारिताको आवश्यकतामा जोड दिए । प्रमुख प्रशिक्षक तथा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा र उपाध्यक्ष सोनी शर्माले प्रविधिको प्रयोगसँगै पत्रकारितालाई विविधीकरण गर्नुपर्ने आवश्यकता औल्याए।
बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सुशासन, पारदर्शिता, विकास र सेवाप्रवाहलाई पभावकारी बनाउन पत्रकारिता क्षेत्रले सजग र सचेत बनाउनुका साथै सकारात्मक कार्यको प्रवद्र्धनको पनि अपेक्षा गरिएको बताए । महासङ्घ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र पूर्वअध्यक्ष तारानाथ शर्माले जिल्लाका सञ्चारमाध्यमको सङ्ख्यात्मक वृद्धि भए पनि सामग्रीलाई गुणस्तरीय, खोजमूलक, तथ्यपरक र अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिए ।
महासङ्घ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता र उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गरेका कार्यक्रमको सञ्चालन शाखा सचिव सन्तोष गौतमले गरेका थिए । प्रदेश सरकारको गण्डकीका ११ जिल्लाका पत्रकारलाई तालिम दिने कार्यक्रमअन्तर्गत यसअघि नवलपुर र बागलुङमा तालिम सम्पन्न भएको महासङ्घका प्रदेश महासचिव गोविन्द सुवेदीले जानकारी दिए। तालिमको महासङ्घका पूर्वअध्यक्ष झा र अन्नपूर्ण पोष्टका संवाददाता कृष्णमणि बरालले सहजीकरण गर्नुहुने जनाइएको छ । खोज, फिचर, फोटो र भिडियोसम्बन्धी प्राविधिक तथा व्यवहारिक ज्ञान, सीप प्रदान गरिने महासचिव सुवेदीले बताए ।