कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

बागलुङ - गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ।

कालिका मन्दिर भगवती मन्दिरको प्रवेशद्वारमा दुईतले सङ्ग्रहालय भवन निर्माण थालिएको छ। कालिका मन्दिरसँग जोडिएको पुरातात्विक वस्तु, कालिका मन्दिरको इतिहासलगायतका जानकारी सङ्ग्रहालयमा राखिने छ। सङ्ग्रहालय निर्माणपश्चात कालिका मन्दिर चिनाउन थप सहज हुने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

“सङ्घीय सरकारको योजनामा सङ्ग्रहालय बन्नका लागि शनिबार शिलान्यस गरेका छौँ, कालिका मन्दिरको पहिचान, मन्दिरको थप रोचक पक्षलाई उजागर गर्न सङ्ग्रहालय अवलोकन गर्न सकिन्छ”, उनले भने, “मन्दिरको मेला र निर्वाचनका कारण निर्माण गर्न केही ढिलाइ भएको हो, जतिसक्दो छिटो सङ्ग्रहालय तयार हुनेछ।” शनिबार बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले सङ्ग्रहालयको शिलान्यास गरेका छन्।

दुई तलाको पक्की भवन निर्माणपश्चात यसलाई सङ्ग्रहालयका रूपमा अगाडि बढाइने छ। सङ्ग्रहालय भवन निर्माण गर्न सङ्घीय सरकारअन्तर्गत सघन तथा भवन डिभिजन कार्यालय बागलुङले रु ९० लाख विनियोजन गरेकामा रु ६१ लाखमा ठेक्का सम्झौता भएको छ। ठेक्का मिति यही असारसम्म रहेको छ। माछापुच्छ्रे निर्माण सेवाले उक्त भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि कलाधर आचार्यले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×