९ पुस, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ। बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५ हजार ५ सय रुपैयाँको ठूलो वृद्धि भएपछि पनि मूल्य बढ्ने क्रम रोकिएको छैन। यसअघि सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ। बुधबार चाँदीको भाउ प्रतितोला १६५ रुपैयाँले वृद्धि भई ४ हजार ४२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव, आर्थिक अनिश्चितता र लगानीकर्ताको बढ्दो आकर्षणका कारण सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। हालको अवस्था हेर्दा आगामी दिनमा पनि मूल्यमा थप उतारचढाव देखिन सक्ने अनुमान गरिएको छ।