आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा सुरु हुने आइसिसी पुरुष टी–२० विश्वकपलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)बीच विवाद चर्किएको छ। सुरक्षाको कारण देखाउँदै बंगलादेशले आफ्ना खेल भारतबाहिर सार्न माग गरेपछि आइसिसीले उक्त प्रस्ताव अस्वीकार गर्दै कडा सन्देश दिएको छ।
‘इएसपीएन क्रिकइन्फो’का अनुसार आइसिसीले बंगलादेशलाई भारतमै आएर खेल्न वा खेल नखेलेको अवस्थामा अंक गुमाउन (हार स्वीकार गर्न) तयार हुन चेतावनी दिएको बुझिएको छ। यद्यपि, बंगलादेश क्रिकेट बोर्डले भने आफूहरूलाई कुनै औपचारिक अल्टिमेटम वा धम्की नआएको दाबी गर्दै आएको छ। यसले दुवै निकायबीचको भनाइमा स्पष्ट विरोधाभास देखिएको छ।
यो विवादको जरो भने बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानसँग जोडिएको छ। उनलाई इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोलकाता नाइट राइडर्सले ९ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो। तर, पछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले कोलकातालाई मुस्ताफिजुरलाई टोलीबाट रिलिज गर्न निर्देशन दिएको थियो। यसको स्पष्ट कारण नदिइए पनि राजनीतिक दबाबका कारण यस्तो निर्णय भएको आशंका गरिएको छ। यही घटनापछि बंगलादेश क्रिकेट बोर्ड असन्तुष्ट बनेको बताइएको छ।
टी–२० विश्वकप फेब्रुअरी ७ बाट सुरु हुँदैछ। बंगलादेश रहेको समूहमा नेपाल पनि समावेश छ। तालिकाअनुसार बंगलादेशले आफ्ना सुरुका तीन खेल कोलकातामा खेल्नेछ भने फेब्रुअरी १७ मा नेपालसँग मुम्बईमा प्रतिस्पर्धा गर्ने कार्यक्रम तय भएको छ।
यो घटनाक्रमले विश्वकपअघि अन्तर्राष्ट्रिय क्रिकेट राजनीतिमा नयाँ तरंग ल्याएको छ भने प्रतियोगिता सुचारु रूपमा सञ्चालन हुने–नहुने विषयमा समेत चासो बढाएको छ।
.png)
.png)
.png)
.png)
.png)
.png)

.png)
