काठमाडौं- गीतकार वीरेन्द्र पाठकको एकल रचना तथा संगीतकार/प्राज्ञ सुनिल मास्केको एकल संगीतमा ‘खुशीको खुराक’ सार्वजनिक भएको छ। इमेज एफएमबाट प्रत्यक्ष कार्यक्रम गर्दै ‘खुशीको खुुराक’ लाई गीतकार तथा सञ्चारकमीहरु नरेश भट्टराई, कृष्ण आचार्य तथा सुमन पण्डितसहित गीतकार पाठक र संगीतकार मास्केले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।
संग्रहमा सुगम संगीतमा आधारित ‘खुशीको खुराक’ मा ६ वटा गीतहरु समावेश भएका छन्। संग्रहका गीतहरुमा गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल, सुरेश लामाको स्वर रहेको छ।
गीतहरुलाई प्रदीप श्रेष्ठ, रिकेश गुरुङ र दिक्षित पौडेलले संगीत संयोजन गरेका छन्। गीतको अडियो मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका हुन्। एल्बमलाई शुभकामना मिडिया सोलुशनले बजार व्यवस्थापन गरेको हो।
गीतिलेखनमा चार दशक पार गरिसकेका गीतकार वीरेन्द्र पाठकको आधा दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसकेका गीतकार पाठकका एक सयभन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन्। संगीतकार तथा प्राज्ञ सुनिल मास्केको यो एल्बम ११ औं एकल एल्बम हो।