नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न ताजिकिस्तानको प्रस्ताव

काठमाडौँ - ताजिकिस्तानले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेको छ। मध्य एसियाली राष्ट्र ताजिकिस्तानले मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्ताव पठाएको हो।

यद्यपी ताजिकस्तानले प्रस्ताव गरेको मितिमा नेपालमा निर्वाचन हुने भएकोले यस बारेमा निर्णय भएको छैन। ताजिकिस्तानले नोभेम्बर २० अर्थात मंसिर ४ गतेको मिति प्रस्ताव गरेको छ। त्यही दिन नेपालमा संघिय र प्रादेशिक निर्वाचन हुँदैछ भने कतारमा फिफा विश्वकप समेत सुरु हुनेछ।

यसअघि पाकिस्तानले २ खेल खेल्ने प्रस्ताव पठाउँदा एन्फाले निर्वाचनकै कारण देखाउँदै कात्तिक ३० गते १ खेल मात्र खेल्ने सकिने निर्णय गरेको थियो। पाकिस्तानले कात्तिक २८ र मंसिर ६ गते गरी २ खेल खेल्ने प्रस्ताव पठाएकोमा १ खेल मात्र हुन लागेको हो।

ताजिकस्तानले पठाएको प्रस्तावमा छलफल भइरहेको र मंसिर तेस्रो साताको मिति आफूहरुले प्रस्ताव गर्ने एन्फा स्रोतले बताएको छ। नेपालसँग मैत्रीपूर्ण खेलका लागि पछिल्लो समय विभिन्न देशबाट प्रस्ताव आउने क्रम जारी छ। नेपालले गत असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालमा मैत्रीपूर्ण खेल खेलेको थियो।

त्यसअघि ब्रुनाई, मंगोलिया लगायत देशले पनि नेपालसँग खेल्ने इच्छु देखाए पनि खेल सम्भव भए । अझै पनि ब्रुनाईले नेपालसँग मैत्रीपूर्ण खेल खेल्नका लागि प्रयास गरिरहेको छ। स्पेनको चौथो श्रेणीको फुटबल सेगुन्डा फेडेरेसनको टिम सिपी (क्लब पोलिडेपोर्टिभो) कासेरेनोले पनि नेपाली टिमसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको छ। तर यस बारे आधिकारिक निर्णय भने भइसकेको छैन।

एन्फा प्रवक्ता सुरेश साहले अहिलेसम्म पाकिस्तान बाहेक अन्य टिमसँग मैत्रीपूर्ण खेल खेल्ने विषयमा निर्णय नभएको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×