कपडा पेल्ने उपकरणले गर्दैछ दैनिक कमाई

म्याग्दी - बिहीबार म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको खहरेखोलामा बिहान नौ बजेदेखि साँझ छसम्म सिरक र डसना बनाउन पुराना कपडाको भारी बोकेर आउने मानिसको भीड नै लाग्यो। तीनजना धुनिया (सिरक, डसना, तकिया बनाउने मान्छे) ले ट्र्याक्टरमा पुराना कपडा पेलेर कपास निकाल्ने उपकरण जडान गरी बगरफाँटमा आएपछि सिरक र डसना बनाउने मानिसको भीड लागेको थियो। 

रौतहटका बद्रिराम मण्डल, श्याम सोहनी र निकेश गुप्ताको समूहले साँझसम्म कपडा पेलेर कपास निकाली सोही कपासबाट विभिन्न व्यक्तिका ४५ वटा नयाँ सिरक डसना बनाए। बाहिरी खोल आफ्नो कपडा प्रयोग गरी सात किलो पुराना कपडा पेलेर एउटा डसना बनाएको रु एक हजार ४०० लिने गरेको उक्त समूहले  एकै दिन एउटै टोलबाट रु ६३ हजार कमाई गरेको धुनियाँका अगुवा बद्रीरामले बताए। उनका अनुसार रु ६३ हजार कमाई भए पनि ट्र्याक्टर खर्च, उपकरण खर्च, सिरक डसनाको बाहिरी खोल (कपडा)को खर्चलगायत सबै खर्च कटाएर रु १५ हजार बचत हुने र तीनजनाले दामासाहीले बाँड्ने गरिएको छ।

यहाँका बासिन्दालाई अहिलेसम्म सिरक र डसना बनाउनका लागि बाहिरबाट धुनिया खोजेर ल्याउनुपर्ने बाध्यता रहेकामा चलताफिरता उपकरण बोकेर धुनियाहरु घरघरमै आउन थालेपछि निकै सहज भएको स्थानीयवासी देवी थापाले बताउइन्। 

उपकरणको सहायताले धुनियाहरु म्याग्दीका गाउँगाउँमा पुगेर पुराना कपडाबाट डसना, सिरक र तकिया बनाएर राम्रो आम्दानी गरिरहेका छन्। एक सातादेखि म्याग्दीको बेनी नगरपालिकासहित, मालिका, मङ्गला गाउँपालिकाका विभिन्न गाउँमा  यस्ता उपकरण लगेर सिरक, डसना बनाउँदै आएको बद्रीरामले बताए। बद्रीराम र उनका साथीहरुले पुराना कपडालाई  धुलाइ गरी कपास निकालेर डसना, सिरक र तकिया बनाएर लोभलाग्दो आम्दानी गरिरहेका छन्। गाउँगाउँमा उनीहरु गएपछि पुराना कपडा धुलाई गर्नेहरुको भीड बढ्छ। बद्रीरामले यो कामबाट प्रत्येकलाई दैनिक रु चार हजारदेखि पाँच हजारसम्म आम्दानी भइरहेको बताए।

तेह्र वर्षदेखि यो उपकरण राखेर काम गरिरहेको र यसबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ थियो। पुराना कपडाको सदुपयोग भएपछि स्थानीय बासिन्दाले पनि आफूसँग खुसी व्यक्त गर्ने गरेको बद्रीरामलले सुनाए। पुराना थोत्रा कपडा पेलेर कपास बनाएबापत प्रतिकिलो रु ५० र सिलाइबापत डसना र सिरकको साइज हेरी रु एक हजारदेखि एक हजार आठ सयसम्म र कपडाको दाम छुट्टै लिने गरेको उनले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×