काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको खेलतालिका सार्वजनिक भएको छ। खेलकुदअन्तर्गत पुरुष फुटबल बिहीबार सुरु हुँदा उद्घाटन खेलमा एनआरएनए र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।
गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबल ११ टिमले प्रतिस्पर्धा गर्नेछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार बिहीबारकै दोस्रो खेलमा वाग्मती र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरेर लिगकम नकआउटका आधारमा प्रतियोगिता हुनेछ। समूह ‘ए’ मा एनआरएनए, प्रदेश १ र गण्डकी प्रदेश, समूह ‘बी’ मा वाग्मती, मधेस र एपीएफ, समूह ‘सी’ मा लुम्बिनी, आर्मी र नेपाल पुलिस क्लब तथा समूह ‘डी’ मा कर्णाली र सुदूरपश्चिम प्रदेश रहेका छन्।
फुटबलको फाइनल कात्तिक ३ मा पोखरा रंगशालामा हुनेछ। स्याङजाको वालिङ खेल मैदानमा हुने महिला फुटबलको खेलतालिका पनि सोमबार सार्वजनिक गरिएको छ। महिलातर्फ ३ विभागीय टिम (आर्मी, पुलिस र एपीएफ) र सात प्रदेश १० टिमले प्रतिस्पर्धा गर्नेछन्।
बिहीबार पहिलो खेलमा नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। महिला फुटबलको पनि फाइनल खेल कात्तिक ३ मै हुनेछ।