काठमाडाैँ - विश्वकप फूटबलको क्वार्टरफाइनलमा फ्रान्सविरुद्धको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्न नसक्दा फ्रान्सेली सुपरस्टार किलियन एम्बाप्पे मज्जैले हाँसेका छन्।
केनले १२ यार्डबाट हानेको पेनाल्टी गोलपोस्टमाथिबाट गएको थियो। उनले उक्त पेनाल्टी मिस गरेपछि इंग्ल्यान्ड १-२ गोल अन्तरले हारेर प्रतियोगिताबाट बाहिरिएको छ। अघिल्लो पेनाल्टीमा चाहिँ केनले पेनाल्टीमा गोल गरेका थिए।
तर पेनाल्टी एरियामा मेसन माउन्ट लडेपछि इंग्ल्यान्डले पाएको पेनाल्टीको सदुपयोग केनले गर्न सकेनन्। बल पोस्टभन्दा माथि गएको देखेर एम्बाप्पे खुलेर हाँसेका थिए। इंग्ल्यान्ड समर्थकहरू एम्बाप्पेको यो व्यवहारबाट आक्रोतिश भएका थिए। उनीहरूले सामाजिक सञ्जालमा एम्बाप्पेविरुद्ध आक्रोश पोखेका छन्।