काठमाडौँ - तुलसी घिमिरेको निर्देशन र नीर शाहको निर्माणमा बन्न लागेको फिल्म ‘कोही किन बर्बाद होस्’ छायांकनमा जाने तयारीमा छ। मुख्य कलाकारका लागि अहिले अडिसन चलिरहेको छ।
उपन्यासकार विजय मल्लको नाट्य कृतिमा आधारित हुने यो फिल्मलाई अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गर्न लागिएको जनाइएको छ। निर्मातामध्येका चैतन्यप्रकाश प्रधानका अनुसार आउँदो महिनादेखि फिल्मको छायांकन सुरु हुनेछ। मकवानपुरको पालुङ र टिस्टुङ क्षेत्रमा छायांकन सुरु हुने फिल्ममा ६० जना कलाकार हुने निर्माता प्रधानले जानकारी दिएका छन्।
विजय मल्ल स्मृति प्रतिष्ठानसँग मिलेर बनाउन लागिएको यो सोसल ड्रामा फिल्मले अहिले नेपाली फिल्ममा देखिएको दृश्यभाषाको रिक्ततालाई पूर्ति गर्ने शाहले बताएका छन्।
घरेलु फिल्मका २ हस्तीले पहिलोपटक एउटै फिल्ममा सहकार्य गर्न लागेका हुन्। निर्देशक समेत रहेका शाहले चर्चित नेपाली साहित्यिक कृतिमा आधारित फिल्म बनाइरहेका छन्। यस्तोमा २०१५ सालमा मल्लले लेखेको नाटकमा फिल्म बन्न लागेको हो।
बालबालिकामा प्रेम र मातृत्वले पार्ने प्रभाव र अभिभावकको दायित्व सम्झाउने यो नाटक नेपाली पाठकमाझ चर्चित रहेको छ।