बस्दै प्रतिनिधि सभा बैठक, कार्यसूचीमा एमसीसी

काठमाडौँ - आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने बताइएको छ। सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसी समावेश गरिएको छ। 

संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।  

यसअघि सरकारको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आजका लागि सारिएको हो। संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ। सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ।

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन्। एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक–एक सांसद छन्।

एमसीसीबारे अझै सत्ताधारी गठबन्धनमा सहमति नभइसकेको अवस्थामा अगाडि बढ्न कठिन भइरहेको छ। यद्यपि व्याख्यात्मक विधिमार्फत एमसीसी पास गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजी भएको बताइएको छ। दुवै दलले अन्तिम निर्णय गर्नका लागि पार्टीको बैठक डाकेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×