काठमाडौँ - कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित कान्तिभैरव माध्यमिक विद्यालयले प्रमाणपत्र र चारित्रिक प्रमाण पत्रको मनपरी शुल्क उठाएको भन्दै विद्यार्थीले आपत्ति जनाएका छन्।
दश जोड दुई उत्तीर्ण गरेका विद्यार्थीसँग विद्यालयले प्रमाणपत्रको रु. एक हजार ५०० र चारित्रिक प्रमाणपत्रको रु. चार हजार असुल्ने गरेको विद्यार्थीको आरोप छ छात्रा नीरा राईले शुल्क तिर्दा विद्यालयले बिलसमेत नदिएको गुनासो गरेकी छन्। विद्यालयका लेखापाल दीपेन्द्र सिम्खडा भने प्रमाणपत्रको राष्ट्रिय परीक्षा बोर्डमा रु. एक हजार १०० बुझाउनुपर्ने र भाडाबापत रु. ४०० बढी लिएको बताउँछन्। चारित्रिक प्रमाणपत्रको भने विद्यालय व्यवस्थापन समितिले नै रु. चार हजार लिने निर्णय गरेको उनको भनाइ छ। सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि विद्यालयले मनपरी शुल्क असुल्ने गरेका छन्।
विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइरालाले ११ र १२ कक्षा चलाउन शिक्षक कोटा एवं स्रोत नभएकाले विद्यार्थीसँग बढी शुल्क लिनुपरेको बताए।स्थानीय तह सञ्चालन ऐन, २०७४ ले माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई नै दिएको छ। विसं २०७४ देखि ११ र १२ कक्षा सुरु गरेको विद्यालयलाई प्रत्येक वर्ष रु. तीन लाख घाटा भएको उनको भनाइ छ।
नगरपालिकाले ११ र १२ कक्षा चलाउन जोड गरे पनि सहयोग भने नगरेको विद्यालयले जनाएको छ।