‘भदौ २४ पछि बुझियो– निशाना ओली मात्र होइन, समग्र राज्य संरचना नै रहेछ’ : पद्मा अर्याल

काठमाडौं । ११ औँ महाधिवेशन नजिकिँदै गर्दा नेकपा एमालेभित्र चहलपहल र नेतृत्वबारे बहस तीव्र बन्दै गएको छ। जेनजी आन्दोलनपछि विभिन्न दलमा पुनर्गठनको चर्चा चले पनि एमालेभित्र भने नेतृत्व हस्तान्तरणका सन्दर्भमा अन्य दलभन्दा भिन्न ऊर्जा देखिएको सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालको भनाइ छ।

रातोपाटीको ‘वारपार’ कार्यक्रममा सहभागी हुँदै अर्यालले एमालेको आगामी अध्यक्ष केपी शर्मा ओली नै हुने विश्वास व्यक्त गरिन्। उनका अनुसार, “पार्टी संकटमा हुँदा ओलीले नेतृत्व दिएर संगठनलाई उकासे। लोकप्रिय मतमा पहिलो स्थानमा ल्याउने काम पनि उहाँकै हातबाट भयो।”


महाधिवेशनको तयारी अन्तिम चरणमा

अर्यालका अनुसार विधान महाधिवेशनले आवश्यक संरचनागत कागजातहरू टुंग्याइसकेकाले अबको राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। प्रतिनिधि छनोट सकिएको र प्राविधिक पक्ष मात्र बाँकी रहेको उनको भनाइ छ।


नेतृत्व सहमतिका सम्भावना अझै खुला

वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा बढिरहेको चर्चाबारे उनले भनिन्—
“अध्यक्षले सबैलाई समेटेर सहमति बनाउन प्रयास गर्दै हुनुहुन्छ। उहाँले ‘मेरो नेतृत्वमा एकताबद्ध भएर जाऔँ’ भन्ने प्रस्ताव राखिसक्नुभएको छ।”

ईश्वर पोखरेलसँग सहमति सम्भव छ कि भन्ने प्रश्नमा उनले उत्तर दिइन्—
“चाहना त राखिन्छ, निष्कर्ष भने हेर्न बाँकी छ।”


‘म नेतृत्वसँग असहमत भए पनि चुनेपछि सहयोग गर्छु’

विभिन्न नेतासँग जोडिएको भन्ने प्रश्नमा अर्याल स्पष्ट छिन्। उनले भनिन्—
“चुनावमा फरक मत भए पनि महाधिवेशनले चुनेको नेतृत्वलाई सफल बनाउन सहयोग गर्नु नै कार्यकर्ताको जिम्मेवारी हो। त्यसैले जहाँ नेतृत्व रह्यो, मैले समर्थन गर्दै आएको छु।”


ओलीलाई फेरि अध्यक्ष बनाउनुपर्ने तर्क

अर्यालका अनुसार २०७१ देखि नेतृत्वमा रहेका ओलीले पार्टी पुनर्जागरण, संकटबाट उकास्ने र लोकप्रिय मतमा पहिलो बनाउनेजस्ता काम गरेका छन्।

तर भदौ २३–२४ को घटनाले उनले यसरी जोडिन्—
“यो ओलीविरुद्ध मात्र आन्दोलन थिएन। २४ गतेको विध्वंस त ओलीले राजीनामा दिएपछि भयो। त्यसैले निशाना एमाले वा ओली मात्र होइन, राज्य संरचनामै रहेछ भन्ने प्रष्ट भयो।”


‘बाह्य हस्तक्षेप स्पष्ट थियो’

जेनजी आन्दोलनका क्रममा भएको योजना, गतिविधि र पछि सार्वजनिक भएका ‘डिस्कोर्ड’ चर्चाहरूले विदेशी हात देखिएको उनले दाबी गरिन्।

“आन्तरिक असन्तोष केही थियो, तर २३–२४ का घटनाले बाह्य नियत कति गहिरो थियो भन्ने पुष्टि गर्‍यो,” उनका अनुसार।


नयाँ नक्सा जारी गर्दा पाएको दवाब स्मरण

भूमि सुधार मन्त्री रहेका बेला २०७७ को नयाँ नक्सा सार्वजनिक गर्दा आफूले ठूलो जोखिम महसुस गरेको उनले खुलाइन्।

“कति देशबाट प्रत्यक्ष, कति देशबाट अप्रत्यक्ष दबाब आयो। सुरक्षा जोखिम त महसुस भइसकेको थियो,” उनले भनिन्।


कार्यक्षमता र सुरक्षा संयन्त्रको प्रश्न

प्रधानमन्त्रीलाई आन्दोलनबारे पर्याप्त सूचना नपाएको टिप्पणी गर्दै उनले भनिन्—
“चीन भ्रमण र गोदावरी कार्यक्रमले उहाँ व्यस्त हुनुभयो। सुरक्षा निकायले सामान्य रिपोर्टिङ गरेको जस्तो देखिन्छ।”

उनका अनुसार घटना रोक्न नसक्नुमा संयन्त्रगत कमजोरी थियो, नेतृत्वको चाहनामा कमी थिएन।


ओलीलाई निरन्तरता आवश्यक किन ?

अर्यालको निष्कर्ष यस्तो छ—

“बाहिरबाट केपी ओलीलाई कमजोर पारेर एमाले नियन्त्रण गर्ने शक्ति सक्रिय छन्। यसैले अहिले नेतृत्व परिवर्तनभन्दा स्थिरता महत्वपूर्ण छ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×